दिगो विकास भनेको के हो ?

भविष्‍यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो ।
दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन्
१.  आधारभूत आवश्यकताको परिपूर्ति

२.   विद्यमान स्रोतको उचित प्रयोग ।

“दिगो विकास” शब्दको प्रयोग सन् १९८३मा UNOद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्‍व आयोग Brundtland Commission (ब्रुन्टल्याण्ड आयोग) [जसको अध्यक्ष Norway की प्रधानमन्त्री Dr. Gro Harlem Brundtland थिइन्] द्वारा सन् १९८७मा “हाम्रो साझा भविष्य” [Our Common Future] मा ल्याइएको थियो ।
प्राकृतिक स्रोत¸ साधन¸ वातावरण¸ जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ ।वर्तमान पिँढीलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुर्‍याउन यसले सहयोग गर्छ ।विश्वमा सहरीकरण, जनसंख्या वृद्धि, भौतिक र प्राकृतिक वस्तुको बढ्दो माग र बढ्दो वातावरण विनाशजस्ता समस्याका कारण सन् १९७० को दशकबाट दिगो विकासका लागि प्राकृतिक वातावरण विनाशमा कमी ल्याउनुपर्ने कुरालाई बढी जोड दिन थालिएको हो । दिगोपन र विकास भन्ने कुरा राज्यको लागि मात्र नभई हरेक संस्था तथा आर्थिक क्षेत्रका लागि उत्तिकै अर्थपूर्ण अवधारणा हो ।
संयुक्त राष्ट्र संघले विश्वबाट गरिबी न्यूनिकरण गर्नका लागि दिगो विकाससम्बन्धी अवधारणा ल्याएको छ । सन् २०३० सम्मको लागि दिगो विकास लक्ष्यमा विभिन्न क्षेत्रमा प्राथमिकता तथा लक्ष्य तोकिएका छन् । जसमा सन् २०३० सम्म विश्वबाट गरिबीको अन्त्य गर्ने, भोकमरी हुन नदिने, स्वास्थ्य अवस्थामा सुधार, गुणस्तरीय शिक्षा, लैङ्गिक असमानताको अन्त्य गर्ने, स्वस्थ खानेपानीको प्रबन्ध, स्वच्छ वातावरण, आर्थिक वृद्धि, पूर्वाधार तथा औद्यौगिक विकास र विस्तार, असमानता हटाउने, दिगो सहर र समुदाय, जिम्मेवार उत्पादन र प्रयोग, वातावरण क्रिया, शान्ति, न्याय र सक्षम संरचना निर्माणजस्ता कुराहरूमा जोड दिइएको छ । विगतमा पनि दिगो विकाससम्बन्धी लक्ष्यले गरिबी हटाउने, भोगमरीको अन्त्य गर्र्ने, प्राथमिक शिक्षा, लैंगिक असमानता हटाउने, बालमृत्युदरमा कमि ल्याउनेजस्ता कुरालाई प्रमुख लक्ष्य मानेको थियो ।
मानवीय विकासका लागि प्राकृतिक वातावरणलाई जोगाउँदै आउने पुस्ताको लागि पनि बचाउनुपर्ने मानिन्छ । संयुक्त राष्ट्र संघ (यूएन) ले विश्वको बढ्दो वातावरण विनाशमा गहिरो चिन्ता र चासो राख्दै आएको छ । उसले सोही विषयलाई लिएर विभिन्न विश्व सम्मेलनहरू पनि गर्दै आएको छ । सन् २०१५ मा युएनले दिगो विकास सम्बन्धी सम्मेलन गरेको थियो । सन् २०१२ मा वातावरण सम्बन्धी रियो सम्मेलन (ब्राजिलको राजधानी रियो दि जेनेरियो) गरेको थियो । यस अघि सन् २००२ मा दक्षिण अफ्रिकाको राजधानी जोनेसवर्गमा दिगो विकास सम्बन्धी सम्मेलन गरेको थियो । सन् १९९७ मा युएनले साधरण सभामा वातावरणसम्बन्धी विशेष सत्र चलाएको थियो । सन् १९९२ मा रियो दि जेनेरियो (ब्राजिल) मा वातावरण र विकाससम्बन्धी विश्व सम्मेलन गरेको थियो । यसअघि सन् १९७२ मा स्विडेनको स्टकहोममा मानव वातावरणसम्बन्धी सम्मेलन गरेको थियो ।
राष्ट्र संघीय दिगो विकाससम्बन्धी लक्ष्य (सस्टेनेबल डिभलपमेन्ट गोल्स) एउटा दिगो विकास र वातारणको संरक्षणसम्बन्धी विश्वको साझा सम्झौता हो । यसले दिगो विकासमार्फत गरिबी घटाएर विश्वमा समानता, न्याय, सामाजिक विकास तथा मानवीय सुरक्षा दिने लक्ष्य लिएको छ । विकसित विश्व, सुुरक्षित विश्व, समृद्ध विश्व, न्यायपूर्ण विश्वजस्ता लोकप्रिय नारा यसले लिएको देखिन्छ । जसमा विश्वका १ सय ९३ वटै संयुक्त राष्ट्रसंघका सदस्यहरूले सन् २०१५ को सम्मेलनमा समर्थन गरेका छन् । जसलाई सन् २०१६ को जनवरी १ बाट लागू गरिएको हो । यसको मूल र पहिलो लक्ष्यमा विश्वबाट सबै खालका गरिबी हटाउने भन्ने हो । जसमा विश्वबाट प्रतिव्यक्ति प्रतिदिन १.२५ अमेरिकी डलर भन्दा कम आम्दानी हुने गरिबहरूको स्तर र अवस्था माथि उठाउने भनिएको छ । यो आफैंमा चुनौतीपूर्ण र महŒवकांक्षी घोषणा हो । हाल सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोरोना भाइरससम्बन्धी महामारी गम्भीर र ठूलो चुनौतीका रूपमा खडा भएको छ । महामारीका कारण विश्वको सर्वाधिक शक्तिशाली अर्थतन्त्र भएको अमेरिकामा मात्रै ३ करोडभन्दा बढीले रोजगारी गुुमाएका छन् र गुमाउने क्रम बढ्दै गएको छ । त्यस्तै भारत, ब्राजिल, रुस तथा युरोपका अधिकांश मुलुकहरूको हालत पनि गम्भीर देखिन्छ । यस दृष्टिले हेर्दा सन् २०३० सम्म विश्वबाट गरिबी हटाउने दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र संघको लक्ष्य पूरा गर्न राष्ट्रहरूलाई फलामको चिउरा चपाउनुसरह हुने पूर्वअनुमान गर्न सकिन्छ ।
संयुक्त राष्ट्र संघले लिएका सन् २०३० सम्मका प्रमुख पाँच लक्ष्यमा गरिबी हटाउने, राज्यहरूमा सामाजिक सुरक्षा बढाउने, महिला र पुरूषको लैंगिक विभेद हटाउने, आर्थिक, सामाजिक र वातावरणीय पक्षमा व्यापक सुधार गर्ने, अविकसित मुलुकहरूमा सार्वजनिक र सामाजिक लगानीमा वृद्धि गरी गरिबी र असमानता हटाउने, सबैको सहभागिता वृद्धि गर्दै आयमा वृद्धि गर्नेजस्ता लक्ष्य रहेका छन् । यी लक्ष्य लिनु आफंैमा सकारात्मक कार्य भए पनि लक्ष्य पूरा हुने कुनै संकेत देखिएका छैनन् ।

Post a Comment

Previous Post Next Post