नेपाल एक बहुधार्मिक,बहु
सांस्कृतिक तथा विभिन्न बिबिधताले भरिपुर्ण भएको देश हो। यहाँ धेरै जात तथा धर्म मान्ने मानिसको बसोबास रहेको छ। नेपालमा मुख्यत: हिन्दुधर्मावलम्बीको संख्या धेरै रहेको छ।  केही समय पुर्ब बिश्वको एक मात्र हिन्दुराज्य पनि नेपाल नै हो। बिश्वको पर्यटकीय क्षेत्र तथा धार्मिक तिर्थस्थलको प्रमुख गन्तव्य मध्ये प्रमुखक्षेत्र  नेपाल पनि एक हो।यहाँ धेरै धार्मिक तथा तिर्थस्थलहरु छन। तीमध्ये देबघाटधाम एक प्रमुख धार्मिक क्षेत्र हो। यहाँ देबघाटको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराइन्छ। 

देबघाटमा धेरै मठमन्दिरहरु रहेका छन छन।अधिकाम्श मठमन्दिरहरु शिव तथा बिष्णुका रहेका छन भने विभिन्न देबीदेवताका मन्दिर तथा सत्तलहरु पनि रहेका छन। देबघाटधामलाई  नेपालको आदिप्रयाग तथा हरिहर क्षेत्र भनेर पनि चिनिन्छ। चितवन र तनहुँको सिमानामा रहेको देवघाटधाम पबित्र कालीगण्डकी र त्रिशुलीको सङ्गमस्थल पनि हो। प्रकृतिको काखमा रहेको यो क्षेत्र अत्यन्त सुन्दर र रमणीय छ।यस क्षेत्रमा बर्षेनि धेरै स्देशी तथा बिदेशी पर्यटक तथा भक्तजनको आवागमन हुन्छ भने विशेष पर्व उत्सबमा त मानिसको ठुलो घुइँचो नै लाग्छ। धार्मिकस्थल देबघाटको बारेमा शास्त्र तथा लोकप्रचलनमा धेरै किम्बदन्ति भनाइहरु सुनिन्छन।परापुर्बक कालमा जब समुद्र मन्थन गरियो त्यसबेला दैत्य र देवता बिच अमृत प्राप्त गर्न युद्ध भयो। सो क्रममा अमृतको थोपा खसी बिनाशको आरम्भ हुन थाल्यो। यस समस्याको निबारणको लागि सबै देबीदेबता महादेबको शरणमा पुगे।त्यसपछि अमृतको थोपा खसेको ठाउँमा स्वयम् महादेबले नै एउटा ज्योतिर्लिङ्गको आकार लिनु भयो र स्थापित हुनुभयो भन्ने कुरा स्कन्दपुराणमा प्रमाण रहेको शास्त्रज्ञाताहरु बताउँछन। अहिले पनि त्यस क्षेत्र ज्योतिर्लिङ्गेश्वर महादेबको नामले प्रसिद्ध छ जुन देवघाटको सङ्गमस्थलको सामिप्यमा रहेको छ।भगवान भक्त जडभरत पनि यहीँ तपस्या गरी मोक्ष प्राप्त गरेको किम्बदन्ती रहेको छ। 

यस पावनभुमि देवघाटक्षेत्रमा महर्षि बेद ब्यास, मुनि जड भरत,महर्षि बशिस्ठ,  महर्षि कश्यपजस्ता महामुनीहरुले तपस्या गरी सिद्धिप्राप्त गरेका शास्त्रीय प्रमाण रहेको छ।
यस पबित्रभुमीमा देबीदेबता पनि ब्रह्ममुहुर्तको समयमा बेणी सङ्गमस्थलमा स्नान तथा बिचरण गर्न आउने गरेको त्यहाँका सिद्ध साधकहरुको भनाइ रहेको छ।नेपाल कै ठुला ठुला गुरुकुल पनि देवघाटमा नै पर्दछन।यहाँ अध्ययन गरेका विद्यार्थीहरु देश बिदेशमा उच्च पदमा रहेका छन।

संंस्कृत भाषा अध्ययनको लागि देशका लगभग सबै जिल्लाबाट ब्राह्मण बटुकहरु देवघाटमा आउने गर्दछन।यहाँ अध्ययन विद्यार्थी भावी भबिस्यमा देशका उच्चस्थानमा पुग्दछन।देवघाट क्षेत्र संस्कृत भाषा अध्ययन र यसको महत्त्वको बारेमा  जानकारी प्राप्त गर्न अती महत्वपूर्ण क्षेत्र हो।हाल बिश्व संस्कृत भाषाको बारेमा विभिन्न अन्वेषण तथा अनुसन्धानहरु भैरहेका छन।ठुला ठुला विद्वान तथा बैज्ञानिकहरु संस्कृतको महत्त्व?को बारेमा अनुसन्धान गरी रहेका छन।संसारको सबैभन्दा प्राचीन तथा सम्पुर्ण ब्याकरणको दोष रहित सर्बोत्तम भाषाका रुपमा संस्कृतलाई मान्ने गरिन्छ।जुन भाषा सुसंम्स्कृत,परिमार्जित तथा शुद्ध छ त्यो नै संस्कृत भाषा हो भन्ने विद्वानहरु बताउँछन।संस्कृतको महत्त्वको बारेमा एउटा श्लोक पनि लोक प्रचलनमा उपलब्ध छ।

#जानाति बिबिधा भाषा,जानाति बिबिधा कला।
आत्मानम् नैब जानाति यो न: जानाति संस्कृत:।।
         अर्थात धेरै कला र धेरै भाषा जाने पनि जस्ले संस्कृत पढ्दैन संस्कृत भाषा जान्दैन यसको महत्त्वको बारेमा थाहा पाउदैन त्यसले आफुलाइ कहिले पनि जान्दैन ,आफ्नो अस्तित्वको पहिचान हुँदैन।
यस श्लोकको बाक्यलाइ आत्मसात गर्दै ज्ञानी तथा साधक ठुला ठुला सन्त महात्माहरुले देवघाटजस्तो पावनभुमीमा संस्कृत अध्ययन तथा अध्यापनको लागि गुरुकुलहरु संचालन गरेका छन।यहाँ नि:शुल्क रुपमा बसोबास तथा पठनपाठन गराइन्छ। त्यसैले बर्षेनि देवघाटमा अध्ययन गर्न हजारौंको संख्यामा ब्राह्मणहरुको उपस्थिति हुने गरेको छ।आफ्नो ब्राह्मणधर्मको पालना गरि शिष्टाचारमा बसि संस्कृत भाषाको अध्ययन गर्ने ब्राह्मणहरु देवघाटमा रहन्छन।यहाँ बेद,ब्याकरण,ज्योतिष तथा उपनिषद्जस्ता गहन बिषयको गुरुहरुद्वारा अध्ययन अध्यापन गराइन्छ।यसरी संस्कृत पठनपाठन गर्ने गराउने गुरुकुलमध्ये देवघाटमा तीन गुरुकुल प्रमुख रहेका छ्न।ती गुरुकुलको बारेमा तल जानकारी गरिन्छ।

#महेश आश्रम तथा गुरुकुल 
       यो आश्रम नेपालकै सबैभन्दा राम्रो र प्रसिद्ध मानिन्छ।यस आश्रमका संस्थापक डा.स्वामी रामानन्द गिरिजी हुन।यहाँ संस्कृत भाषाअन्तर्गत बेद,ब्याकरण,ज्योतिष ,श्रीमद्भागवत जस्ता धेरै शास्त्रको अध्ययन हुन्छ।यस आश्रममा आचार्य( डिग्री )सम्म अध्ययन अध्यापन गराइन्छ।

#हरिहर आश्रम(परमानन्द संस्कृत गुरुकुल)
      यस आश्रमका संस्थापक स्वामी परमानन्द सरस्वती हुन।यस आश्रममा शास्त्री( bachelor)सम्म अध्ययन हुने गर्दछ भने बिद्वान गुरुहरुको सान्निध्यमा विभिन्न शास्त्रहरुको अध्ययन हुन्छन।हाल यस आश्रमका संरक्षक नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती हुनुहुन्छ।

#गलेश्वर आश्रम ( बेद बेदाङ्ग बिद्यालय )
       अष्टाङ्गयोग सिद्ध गलेश्वर बाबाले यो आश्रमको स्थापना गरेका कारण यस आश्रमको नाम गलेश्वर रहन गएको हो।गलेश्वर आश्रमले बिद्यालय तथा धेरै सहयोगी संस्थाहरु निर्माण गरि सेवा दिदै आएको छ।यहाँ बर्तमान आजको समयसम्म उत्तरमध्यमा(+2) सम्म अध्ययन हुन्छ भने यस्लाइ उच्चस्तरीय बनाउने कार्य भइरहेको छ। यस आश्रमका बर्तमान संरक्षक अनन्त श्रीबिभुषीत महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी हुनुहुन्छ।
        देवघाटमा अरु पनि थुप्रै संस्कृत गुरुकुलहरु रहेका छन।जहाँ सनातनदेखी चलिआएको संस्कृत भाषाको अध्ययनअध्यापन गराइन्छ।
        
        
देवघाट क्षेत्रमा धेरै पर्यटकीय तथा धार्मिकस्थलहरु रहेका छन।जुन संसार मै  दिब्य तथा अलौकिक रहेका छन।त्यसमध्ये यीस्थान महत्त्वपूर्ण रहेका छन।


# कालीगण्डकी नदी

       संसारकै एकमात्र ठाउमा पाइने बिष्णु भगवानको स्वरुप मानिने शालीग्राम यहीँ नदीमा पाइन्छ।मुक्तिनाथ (दामोदरकुन्ड)बाट बगी यो नदी त्रीशुलीसङ्ग सामाहित भै नारायणी नदीको रुप लिग्दछ।यहाँ पाइने शालीग्रामलाई हिन्दुभक्तहरु आ-आफ्नो घरमा लगि पुजा गरेमा सुख समृद्धि मिल्ने आस्था राख्दछन।


# सीता गुफा

 त्रेतायुगमा माता सीतालाइ बनवास भएपछी उनी धर्तीमातामा बिलिन भएको जनआस्था रहेको छ। मानिसहरु सीता बिलय भएको  विभिन्न ठाउँ माने पनि शास्त्रीय प्रमाण सहित यस स्थानलाई मानिन्छ। त्यहीँ क्रममा माता सीताले यसै देवघाटको सङ्गम क्षेत्रको नजिकैको पूण्य भुमिमा आफ्नो स-शरीर भासिएको  अर्थात् विलय भएको प्रमाण शास्त्रमा रहेको विद्वानहरु बताउँछन।यस क्षेत्रलाई निकै पूण्यभुमी मानिन्छ।


#अघोरी आश्रम

 देवघाटमा अरुभन्दा पृथक रहेको यो आश्रम निकै आस्चर्यजनक रहेको छ।यो स्थान नदीको तटमा अबस्थित छ।यस आश्रका संस्थापक पगला(पागल) बाबा हुन भन्ने मानिन्छ। उहाँले कुनै यज्ञमा आफ्नो औंला काटी चढाएको पनि सुन्न सकिन्छ।तामशिक बिचारधाराका अघोरीहरु भुतप्रेतको साधना गरि उनीहरुलाई खुशी बनाउछन भन्ने पनि सुनिन्छ।सधैं कालो बस्त्र धारण गरि बस्ने अघोरीहरु देवघाटको नदी क्षेत्रमा बसोबास गर्दछन। 


#चक्रबर्ती मन्दिर

 पाल्पाको राजा मणि मुकुन्देश्वरले निमार्ण गरि यहीँ नै तपस्या गरेको यो मन्दिर निकै रमणीय छ।यहाँ  मन्दिरमा रहेको शीला निकै अनौठो रहेको छ।यो शीलामा चक्र चक्र परेको छ भने यो बर्षको एउटा तिलको दाना जति बढ्ने गरेको  यहाँ बस्ने पुजारी तथा स्थानीयको बिश्वास रहेको छ। 


# बिष्णुपादुका मन्दिर 

 चक्रबर्ती मन्दिरको नजिकै रहेको यस मन्दिरमा भगवान लक्ष्मीनारायणको पाउको चिन्ह रहेको स्थानीय बताउँछन।पत्थरमा रहेको यो चिह्न कसैले निर्माण न गरि प्राकृतिक रहेको मानिसहरु मान्दछ्न।यो शीला अलौकिक ,दिब्यका साथै रहस्यमयी रहेको छ।
         यसका साथै देवघाटधाममा धेरै धार्किक तथा पर्यटकीय स्थलहरु रहेका छन।जस्तै सीता गुफा नजिकैको बशिस्ठ गुफा रहेको छ। हरिहर मन्दिर,बिद्येश्वर शिवालय सिद्धेश्वर महादेव, मणिमुकुन्देश्वर बाटिका सुर्यकुण्ड तथा विभिन्न ऋषिहरुका विभिन्न आश्रमहरु पनि देवघाटमा रहेका छन। देवघाटधामदेखि केहि टाढा रहेको मौलाकालिका मन्दिर पनि निकै प्रसिद्ध रहेको छ।मानिसहरु यस क्षेत्रमा पुजाअर्चना गर्न र पर्यटकीय हिसाबले अबलोकन गर्न सयौंको संख्यामा आउने गर्दछन।बिशेषत: मन्दिरमा देवीको प्रतिरुप रहेकाले यहाँ देवीभक्तहरुको उपस्थिति बढी हुने गर्दछ।यस बाहेक पनि देवघाटधाममा साना ठुला थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन।जस्ले गर्दा यस क्षेत्रको महिमा अझ बढाएको छ। यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ जसो आएपनि यहाँ मनाइने बर्षैपिछ्येको चाडपर्वमा भने झन आउने गर्दछन।जस्तै देवघाटमा मनाइने माघे संक्रान्ति,महाशिवरात्री,कृष्णजन्माष्टमी,
जनैपूर्णिमा,तीज,वालाचतुर्दशी,श्राबणीस्नानतथा सोमबार,हरिबोधनी एकादशीजस्ता ठुला ठुला पर्वमा यहाँ मानिसको भीड लाग्ने गर्दछ।जस्ले गर्दा यस क्षेत्रको बारेमा अझ प्रचार भएको छ भने महिमा पनि वृद्धि भएको छ।

यस्ता अलौकिक तथा रहस्यमयी मठमन्दिर तथा चाडपर्वका साथसाथै अरु थुप्रै स्थलहरुले गर्दा देवघाट क्षेत्रलाई निकै शोभायमान बनाएको छ।जस्ले गर्दा देवघाट क्षेत्रको अझ सुन्दरता,महिमा र महत्त्वमा धेरै वृद्धि भएको छ।









Post a Comment

Previous Post Next Post