नेपाल एक बिबिधतामा पनि एकता भएको देश हो।नेपालमा विभिन्न जातजाति, भाषाभाषी ,संस्कृति ,रीतिरिवाज र धेरै धर्म मान्ने मानिसको बसोबास रहेको छ।  नेपालमा धेरै धर्म मान्ने समुदायहरु भए पनि नेपालको इतिहासमा आजसम्म धर्मको नाममा द्वन्द्व भएको छैन।नेपालमा हिन्दू धर्मलाई आफ्नो आस्था समर्पण गर्नेको बाहुल्यता भए पनि सबै धर्मलाई समान दृष्टिकोणले आस्थाले हेरिन्छ।यस्तो सहिष्णुताकासाथ बस्ने नेपालीको असल चरित्र पूरा विश्वसामु स्पष्ट छ।यसरी एउटै धागामा सम्पुर्ण नेपालीहरु समेटिएको भगवान पशुपतिनाथको आशीर्वादले गर्दा नै हो।त्यसैले आज यस लेखबाट पशुपतिनाथको बारेमा केही धार्मिक र रोचक जानकारी गराइन्छ।

#बाग्मती पश्चिमे तीरे।
                    सर्बदेवतप: क्षितौ।।
ज्योतिरुपो मुने:साक्षात् ।
                     पशुपति र्बिराज्यते।।
     अर्थात् वाग्मतीको पश्चिम तीरमा सबै देवता तपश्या गर्छन् किन कि स्वयं ज्योति रूप परमात्मा( शिव ) त्यहाँ वास गरेका छन्।भनी शास्त्रमा पशुपतिनाथको वर्णन गरिएको छ।

 पशुपतिनाथको मन्दिर नेपालको मध्यभागमा रहेको काठमान्डौँ जिल्लामा पर्दछ।शिबपुरीबाट बगेकी पबित्र बाग्मती नदीको तटमा रहेको यस पशुपतिनाथ क्षेत्रलाई साक्षात् शिवजीको निवासस्थान मानिन्छ।शिवजीको सबैभन्दा विशेष मानिने ज्योतिर्लिङ्गलाई नै पशुपति मान्ने गरिन्छ।प्यागोडा शैलीमा निर्मित पशुपतिनाथ धर्म,आस्था,बिश्वास र कलाको उद्गमबिन्दु नै मानिन्छ।यस मन्दिरको दर्शनले मात्र पनि सम्पुर्ण पाप नाश भै पुरुषार्थ अर्थात् धर्म,अर्थ,काम,मोक्ष प्राप्त जनमानसमा आस्था तथा बिश्वास रहेको छ। संसारको सम्पुर्ण सनातन धर्म मान्ने आस्थिकहरुको केन्द्रबिन्दु नै पशुपतिनाथ  हो।यस क्षेत्रमा दिनहुँ हजारौंको संख्यामा स्वदेशी तथा बिदेशी भक्तजन तथा पर्यटकको भीड लाग्ने गर्दछ।
पशुपतिनाथको बारेमा विभिन्न धार्मिक तथा रोचक  घटना तथा कथाहरु सुन्न पाइन्छ।यसको उत्पत्तिको बारेमा धेरै मतहरु सुनिन्छ भने परापुर्बक कालमा भीमसेन आफ्नो बलको घमण्डमा चुर भएको बेला भगवान शिबजीले बृषभ अर्थात् गोरुको रुप धारण गरि जङ्गलमा बिचरण गर्नु भएको र भीमले थाहा पाई भगवानलाई समाउन खोज्दा शिर र शरीर छेदन भै शिर भाग पशुपतिनाथ र शरीर केदारनाथको रुपमा उत्पत्ति भएको जनमानसमा बिश्वास रहेको छ।सोहीअनुसार पशुपतिनाथको क्षेत्रमा धेरै अलौकिक घटना घट्ने गरेका छन।धेरै पहिला एउटा गाई चर्न जादाँ आफ्नो दूध बगाइ रहन्थिन।चर्न छोडी लगातार दूध बगाएपछि सबै गोठालाहरु आस्चर्यमा परे।त्यसपछी सो क्षेत्रमा खनेर हेर्दा एउटा दिब्य ज्योतिर्मय शिवलिङ्गको उत्पत्ति भयो।समयक्रममा त्यस मूर्तिलाई लिच्छविकालिन राजा पुष्पदेवले मन्दिर बनाई स्थापना गरेको यसको इतिहास रहेको छ।समयक्रममा पशुपतिनाथलाई राजा धर्मराज,राजा जयदेव र प्रताप मल्लले जीर्णोद्धार गरेको इतिहासमा पाइन्छ।पशुपतिनाथमा चार ओटा चाँदीका अर्थात् रजतद्वार रहेको छ।यी चार द्वारले पुरुषार्थ ( धर्म, अर्थ,काम,मोक्ष)लाई जनाउँछ।त्यसैगरी पशुपतिको गजुर सुनद्वारा निर्माण गरिएको छ।पशुपतिको प्राङ्गणमा एउटा बिशालकाय शिवको बाहन अर्थात् नन्दीको प्रतिमा छ।प्यागोडा शैलीमा निर्मित पशुपतिनाथको मन्दिर क्षेत्रमा  सम्पुर्ण बास्तुकलाको पनि सुन्दर उदाहरण पाउन सकिन्छ।

पशुपति क्षेत्र वरिपरि करीब एक हजारभन्दा धेरै शिबलिङ्ग रहेको छ।यो क्षेत्र मन्दिर,सत्तल,पाटीपौवा र बिश्रामस्थलले भरिपुर्ण भएकाले निकै सुन्दर र रमणीय देखिन्छ। काठमा कुदिँएका देवीदेवताको प्रतिमा देखि मन न लोभिने ब्यक्ति सायदै कोहि होला।त्यसैले संसारको हरेक कुना कुनाबाट पशुपतिनाथ क्षेत्र घुम्न र दर्शन गर्न आउनेको भिड लाग्ने गर्दछ। ज्युदोँ छदा धर्म गर्न आउने मात्र न भई मृत्यु पश्चात् मोक्ष प्राप्त गर्न पशुपति क्षेत्रमा देहत्याग गर्न मानिसहरु अभिलाषी हुन्छन।त्यसैले पशुपतिनाथ क्षेत्रमा शवदाह गर्नका निम्ति आर्यघाटको ब्यबस्था गरिएको छ। २६४ हेक्टरमा फैलिएको पशुपतिनाथको यस
क्षेत्रका महिमा बढाउने मुख्य,रोचक सुन्दर तथा अलौकिक मन्दिरहरु धेरै रहेका छन।यसमध्ये मुख्य क्षेत्रको बारेमा संक्षिप्तमा तल जानकारी गराइन्छ।

# बाग्मती नदी 
 यो नदी शिवपुरी डाडोँको शिखरबाट बगि पशुपतिनाथको सौन्दर्यता र महिमा बढाइ बग्दछ।यो नदीको बारेमा शास्त्रमा पनि वर्णन गरेको पाइने विद्वानहरु बताउँछन।यस नदीको पबित्र जल चढाई भगवान पशुपतिनाथको दर्शन तथा आराधाना गरेमा भोलेनाथ चाडैँ प्रसन्न हुने जनमान्यता रहेको छ।

#आर्यघाट क्षेत्र 
 यस आर्यघाट क्षेत्रमा शवदाह गरिन्छ।यहाँ मानिसको अन्त्यष्टी गरेमा पुरुषार्थ अर्थात् धर्म,अर्थ,काम,मोक्ष प्राप्त गरिने र भगवान शिवको सान्निध्य अर्थात् कैलाशको बाँस हुने मानिसहरु बताउँछन।त्यसैले हिन्दू धर्ममा आस्था राख्नेहरु पशुपतिनाथको चरण अर्थात् आर्यघाट क्षेत्रमा आफन्तजनको अन्त्यष्टी गर्दछन।

# विरुपाक्षको मुर्ति 
पशुपतिनाथको क्षेत्रमा बाग्मती नदीको तटमा रहेको यो मन्दिरको बारेमा थुप्रै लोककथा र मान्यता रहेको छ। सामान्यतया बिरुपाक्षको अर्थ कुरुप भन्ने बुझिन्छ। यो मुर्तिलाई भगवान शिवको मानव अबतार पनि मानिन्छ।कुनै एक समयमा यस क्षेत्रमा संयोगबस बिरुपाक्ष र उनका माताबीच सहवास हुन पुग्यो।यो अक्षम्य अपराधका लागि बिरुपाक्षलाई श्राप पर्न गयो।त्यसबेला देखि यस क्षेत्रमा विरुपाक्षको मुर्ती रहेको  इतिहासकार तथा सांस्कृतिक अनुसन्धानकर्ताहरु बताउँछन।यो मुर्तीको अर्को रोचक तथ्य पनि छ।यो मुर्ती बिस्तारै जमिन बाहिर निस्किदै गरेको र  जब पूरा निस्कन्छ तब यो सृष्टिको नाश हुने आस्थिक मानिसहरु बताउँछन।

#बासुकी नागको मन्दिर
 पशुपतिनाथको पुर्बमा रहेको यो मन्दिर भगवान शिवले आफ्नो गलामा धारण गर्ने नागहरुको राजा मानिने बासुकी नागको हो। पशुपतिनाथको दर्शन गरि यहाँ पुजा अर्चना गर्नाले सम्पुर्ण नागदोष निवारण हुने धार्मिक आस्था रहेको छ।

# राम मन्दिर 
 काष्ठकलाको अनुपम उदाहरणको प्रतीक तथा प्यागोडा शैलीमा बनेको राम मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।यसको निर्माण बि.सं १९८९ सालमा राजा भीम शमशेरले बनाएको प्रमाण शीलालेखमा उपलब्ध छ।पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको यो पनि प्रमुख आस्थाको क्षेत्र हो।

# श्लेष्मान्तक बन 
 पशुपतिनाथ मन्दिरको नजिक रहेको यो श्लेष्मान्तक क्षेत्रले पशुपतिको सौन्दर्यतामा सुनमा सुगन्ध थप्ने कार्य गरेको छ। यो वनको सुन्दरताको साथसाथै महत्त्वपूर्ण पनि रहेको छ। परापुर्बक कालमा भगवान शिव माता पार्बतीलाई छली यसै स्थानमा लामो समयसम्म बिचरण गर्नुहुन्थ्यो भन्ने कुरा स्वस्थानी तथा अन्य शास्त्रमा पनि वर्णन गरिएको छ।त्यसैले यो वन निकै महत्त्वपुर्ण स्थल हो।

# गोरखनाथ मन्दिर 
  भगवान शिवकै अंश मानिने गोरखनाथको मन्दिर श्लेष्मान्तक बनको नजिकै रहेको छ।
सामान्यतया कान चिरिएका र भिक्षा मागी आफ्नो जीबिकोपार्जन गरि साधनामा रमाउनेहरु गोरखनाथलाई आफ्नो इष्ट (ईश्वर) मान्दछन।त्यसैले साधकहरुको लागि पशुपति क्षेत्रमा रहेको यो गोरखनाथको मन्दिर निकै महत्त्वपूर्ण रहेको छ।

#गुह्येश्वरी मन्दिर
  पशुपतिभन्दा केही टाढा रहे पनि यो मन्दिरलाई पनि पशुपति क्षेत्र नै मानिन्छ।यो मन्दिरको पनि एउटा छुट्टै महत्व रहेको छ।कुनै समयमा सतीदेविले देहत्याग गरेपछी भगवान शिवले देवीलाइ आफ्नो काधमा राखी पूरा संसार बिचरण गर्नुभयो।यसै क्रममा देवी सतीको गुह्यभागको पतन यो स्थानमा भयो।त्यसपछि यो क्षेत्रलाई गुह्यश्वेरीको नामले प्रसिद्ध भएको सन्त महात्मा हरु बताउँछन।यो क्षेत्र सनातन धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो।






























Post a Comment

Previous Post Next Post